समाचकेवा पर्वमा कुनै भगवानको पूजा नभइ…

समाचकेवा पर्वमा कुनै भगवानको पूजा नभइ…

‘कौन भईया जेताह गंगा रे जमुना
कोन भईया लौते चिकनी माई रे माई ।
बडका भईया जेता गंगा जमुना,
छोटका भईया लौता चिकनी माई रे माई ।।’

अर्थात ‘कुन दाइ जान्छन् गंगा र जमुना, कुन दाइ लिएर आउनेछ माटो । ठूल्दाइ जान्छ गंगा र जमुना, सान्दाइ ल्याउनेछ माटो ।।’

यस्तै भावपुर्ण गीतसंगीतले सजिएको दिदीबहिनी र दाजुभाइबीचको अमर प्रेमको प्रतिकको रुपमा मनाइने सांस्कृतिक पर्व सामाचकेवाको मिथिलाञ्चलमा रौनक बढेको छ ।

अहिले यस्ता गीतहरु यहाँका शहर, गाँउबस्ती, चौक चौराहा, पानपसललगायत घरघरमा गुञ्जिरहेकाे छ । त्यस्तै ग्रामीण भेगमा साँझदेखि मध्यरातिसम्ममा महिलाहरुको मुखारबिन्दुबाट गाएका यस्ता लोकगीतहरुले बस्तीमा छुट्टै रौनक छाएको छ ।

समाचकेवा पर्वमा कुनै भगवानको पूजा नभइ आफ्नै हातले कलात्मक ढंगले निर्मित समा, चकेवा, चुगला लगायतका पात्रहरुलाई डालीमा राखेर सामूहिकरुपमा गीत गाएर मनाउने पर्व हो ।

मैथिली नारीहरुले दाजुभाइको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गीतका माध्यमले खिल्ली उडाएर बेइज्जत गर्ने गर्दछन् ।

पान पान पान, भैईया मुहमे पान,
छाउर छाउर छाउर, चुगला मुहमे छाउर ।

कात्तिक पूर्णिमासम्म मनाइने सामाचकेवा समूहगतरुपमा मनाउने परम्परा अहिले महोत्तरीलगायत तराई मधेशका जिल्लामा व्याप्त छ ।

कात्तिक पूर्णिमाको मध्यरातिमा समापन हुने यो पर्व प्रत्येक दिन साँझदेखि मध्यरातिको समयसम्म घरघरका महिलाहरु चौवटीया (गाँउको खुल्ला स्थान) मा जम्मा भएर प्रत्येकले आआफ्नो डालामा माटोले निर्मित आर्कषक एवं कलात्मक सामाचकेवाको मूर्ति राखेर विभिन्न किसिमका लोकगीतहरु गाएर यो पर्व मनाइने गरेको गौशालाकी शिक्षिका सुनिता कुमारीले भन्नुभयो ।

वृदावनमे आईग लगेलै कोई न मिझावै हे,
हमरोके बडका भईया प्रभाकर भईया मिझावै हे ।

सामाचकेवा बारेमा एक किंवदन्तीसमेत रहेको छ । द्वापर युगमा भगवान कृष्णकी सुपुत्रीको नाम सामा थियो । भगवान कृष्णले आफ्नी छोरीलाई ‘चरा’ बन्ने श्राप दिएपछि पुनः मानव योनीमा फर्काउन सामाका भाइ साम्बले खेलेको भूमिकाको विषय यस पर्वसँग जोडिएको छ । सामाकी नोकरानी डिहुलीले सामा वृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिहरुसँग रमण गर्ने गरेको झुठो कुरा कृष्णसमक्ष लगाइन् । भगवान कृष्णले आवेशमा आएर सामा र वृन्दावनका समस्त ऋषिहरुलाई चरा बन्ने श्राप दिनुभयो ।

सामाको भाइ साम्बले यी विषयहरुमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामासहित सबै ऋषिहरुलाई श्रापबाट मुक्त गर्नुभयो । भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अबदेखि जसले माटोको सामा बनाएर गाउँभरमा भ्रमण गरी पर्व मनाउँछन् उनीहरुका दाजुभाइ दीर्घायु हुने वरदान दिएकाले यो पर्व मनाउन थालिएको भविष्य पुराणमा उल्लेख गरिएको छ ।

काँचो माटोले बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ र त्यही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेवा’ भन्ने संज्ञा दिएर बनाएका माटाका मूर्तिहरुको नै विशेष महत्व रहेको पाइन्छ । यस पर्व मनाउनका लागि प्रत्येकले आआफ्ना रंगीन डालामा सामा, चकेवाका साथै एक पातीमा बसेका सात वटा चरा जसलाई सतभैया, वृन्दावन जङ्गल, झुठो कुरा लगाउने (चुगला) का साथै बनाइएका आकर्षक एवं कलात्मक मूर्तिहरु रहेका हुन्छन् ।

‘कातिके मास हो भईया समा लेलक अवतार
समा चकेवा खेलव गे वहिना भईया जीवह हजार ।’

यता भोजपुरी र मैथिली भाषामा निर्मित यस्ता गीतसंगीतहरुले मिथिलाञ्चल क्षेत्रलाई नै रोमाञ्चक बनाएका छन् । अन्य पर्वहरुमा गाइने गीत संगीतभन्दा पनि यस पर्वमा गाइने गीत संगीतमा भने निकै नै फरक रहेको छ ।

यस पर्वमा सबैभन्दा रोचक भनेको दिदीबहिनीहरुले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशंसाका साथै आशिष दिने खालका सामा गीत गाउने गरिन्छ । सोही क्रममा आफूलाई चाहिएका सामानहरु पनि गीतको माध्यमबाट सुनाउने प्रचलन पनि रहेको छ ।

पछिल्लो समयमा आएर तराई मधेश क्षेत्रमा जारी हिंसात्मक घटनाहरुको कारण त्रसित रहेको यस क्षेत्रका समाजमा भने खुलेर पर्वहरु मनाउन नपाएको नेपाल कुशवाहा कल्याण समाज गौशालाका अध्यक्ष गोपालसिंह कुशवाहा बताउनुहुन्छ ।

साँझदेखि मध्यरातिसम्म मनाइने यस पर्वमा भने पछिल्लो समयमा आएर केही महिलाहरुले मात्र भाग लिने हुँदा रौनकतामा कमी आएको अध्यक्ष कुशवाहाको भनाइ छ । सामाजिक एवं सांस्कृतिक महत्व झल्किने यस्ता पर्वहरुको संरक्षण गर्न सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

पछिल्लो समयमा यस क्षेत्रमा हुँदै आएको यौनजन्य घटनाका गतिविधिलगायतका विभिन्न आतंकित घटनाहरुले त्रसित रहेको समाजलाई परिवर्तन गर्नका लागि सम्बन्धित सरोकार निकायको ध्यान जानु आवश्यक रहेको गौशाला नगरपालिकाका नागेन्द्र साहले बताउनुभयो ।

दाजुभाइले समाचकेवा लगायतका पात्रहरुलाई घुँडामा राखेर फुटाएपछि नदी, तलाउ तथा खुला चौरमा गाडेर समापन गर्ने परम्परा रहेको छ । समाचकेवा पर्व मनाउनका लागि मैथिलानी नारीहरु माइती जाने चलनसमेत रहेको छ । बाहिर रहेका दाजुभाइहरु पनि समाचकेवाको पर्वमा घर फर्किने गर्छन् ।

कात्तिक शुक्ल पूर्णिमा तिथिका दिन मध्यरातिमा एकैसाथ ग्रामीणको खुला खेतमा गइ समाचकेवाको आकर्षक मूर्तिलाई विसर्जन गर्दै पर्व समापन गरिन्छ ।

बुद्धेश्वर रजक

  • Recent Posts

    • Asar 15

      Kanchan Mani Dixit

      posted 5 months ago

      Being an agrarian country where about 66% of people are directly engaged in agriculture, the
    • थिमिको श्री पद्मपाणी लोकेश्वर

      Rekha Shakya

      posted 6 months ago

      थिमिको श्री पद्मपाणी लोकेश्वर नेपाल उपत्यकामा रहेका सृष्टिकान्त लोकेश्वर (नाला), रक्तार्यावलोकितेश्वर (रातो मच्छिन्द्रनाथ बुुंगमती) सेतो
    • श्री माधव-नारायण स्वस्थानी ब्रतकथा

      Binay Prajapati

      posted 11 months ago

      श्री माधव-नारायण ! पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने माधव-नारायण स्वस्थानी ब्रतकथा भोली