नीलबाराही गण नाच
- Bode, Madhyapur Thimi
Neel Barahi Gana Naach, Bode
नीलबाराही गण नाच
मध्यपुर थिमिको बोडेमा प्रत्येक वर्षको भाद्र दितीयदेखि पंचमीसम्म अर्थात गाईजात्राको भोलि पल्टदेखि नीलबाराही नाच नचाइने गरिन्छ । ऐतिहासिक नाचले प्राचिनकालको देवीदेवता नृत्यलाई प्रतिध्वन्धित गर्छ । नाचमा १९ जना देवताहरुको सहभागिता हुन्छ । देवताहरुमा भैरव–१, बाराही–४, कुमारी–४, सिंह–४, द्धारपाल–२ र गणेश–४ जना हुन्छन् । नीलबाराही नाचलाई नेवारीमा नीलबाराही प्याखँ भनिन्छ ।
नीलबाराही नाच तान्त्रिक विधिमा आधारित छ । किंवदन्ती अनुसार नीलबाराही नाचको शुरुवातबारे बोडेमा एउटा कथा प्रचलित छ । कथा अनुसार बोडेका एक कृषक (धों थरको) आफ्नो खेतमा काम गरिरहेको समयमा उनलाई कसैले अपहरण गरेर हालको नीलबाराही मन्दिर रहेको जंगलको एकान्त ठाउँमा लग्यो । नीलबाराही मन्दिर नजिकैको खेत (गंख्यचा) भन्ने ठाउँमा काम गरिरहेको कृषकलाई अपहरण गर्ने नीलबाराही देवता रहेको र कृषकलाई उक्त जंगल रहेको पहाडमा नीलबाराही मन्दिरको स्थापना गर्न र विषेश तान्त्रिक विधिबाट नीलबाराही नाच गण खडा गरी नाच चलाउने विधिको ज्ञान दिई पठाए । नीलबाराहीको आज्ञा पालना गर्दे ती कृषकले गोप्यरुपमा नीलबाराही नाचको गण तयार पारी नाच चलाए । नाचका लागि आवश्यक पर्ने कातिमा (धातुको माला) धोंहरुको घरमा नै लिन जानु पर्छ । सो माला नाचमा भैरवले लगाउँछन् र नाच सकिएपछि उक्त माला धोंहरुलाई नै फर्कोउनु पर्छ ।
तीन दिन लगातार चल्ने नीलबाराही नाचमा देवताहुनेहरुले कठोर नियमका साथ नाच्नु पर्छ । देवताहुनेहरुले नाच अवधि भर केही खानु हुदैँन । देवताहुनेका परिवारले पनि नाच नसिद्धिए सम्म खानु हुँदैन । प्रत्येक देवताहरुको एक एक जना ज्वकालु (सहयोगी) हुन्छन् । ज्वकालु नाच अवधिमा देवतासँगै रहनु पर्ने र नाच शुरु हुनु भन्दा अगाडि देवतासँगै सुकुन्दाका साथ आउनु पर्छ । ज्वकालुले देवताले भनेको कुरा गरी दिनुपर्नेछ । ज्वकालुले मुकुण्डो ल्याउने राख्न लैजाने, देवतालाई माथि उचाल्ने आदि काम गर्नुपर्छ । सुकुन्दामा बत्ति निभाउनु हुँदैन र यदि सुकुन्दामा बत्ति निभ्यो भने देवता हुनेको पेट दुख्ने, वान्ता आउने आदि हुन्छन् भन्ने कथन छ । केही त्यस्तो भएमा गुरुहरुले मन्त्र गरी निको पारिदिन्छन् । देवताहरुलाई थकाई लागेमा उनीहरु भुइमा बस्न पाइने छैन तर ज्वकालुको काख वा घुँडा माथि केही क्षण बसेर थकाई मार्न सक्छन् । देवता हुनेले बोल्नु हुँदैन । जेसुकै भन्नु परेपनि हात वा इसाराले भन्ने गरिन्छ ।
नाच देवता घरबाट निकाल्ने गरिन्छ । देवता घरमा नासकुटी (नृत्य देवल कोठा) हुन्छ । नासकुटीमा देवताहरुको मुकुण्डो र गरगहनाहरु राख्ने गरिन्छ । नासकुटीमा प्रत्येक दिन भैरवले बिहान–साँझ धुप बत्तीले पूजा गर्छन् । त्यसैले नाचमा भैरवको स्थान विशिष्ट छ । नासकुटीको अगाडि अःखा छ । अःखा भनेको सानो चोक जस्तो हो र यहाँबाट नाच बाहिर निकालिन्छ । नाच बाहिर निकाल्नु अगाडि दादशी देखि पूर्णिमासम्म यहीँ अःखामा नाच सिकाइन्छ । जसलाई नेवारीमा प्याखँ स्यनेगु भनिन्छ । नाच सिकाउँदा भैरव, बाराही र गणेशको उपस्थिति अनिवार्य हुन्छ । नाच सिकाउँदा भुस्या, ताःबाजा बजाउने सधैं आउनु पर्छ भने प्वङ्गाको रुपमा मुखले भन्ने गरिन्छ । नाच शुरु हुनु भन्दा एक दिन अगाडि देवताहरु भोजसगैं सिँ खाने गर्छन । प्रत्येक वर्ष देवताहरुको भोजको पालो फेरिन्छ । भोजको भोलिपल्टबाट नाच बाहिर निकाल्ने गरिन्छ ।
भाद्र दितीयका दिन नाच शुरु हुने पहिलो दिन हो । यस दिन नाच बिहान १ बजे निकाल्ने गरिन्छ । नाच देवता घरबाट निस्केर लाछिटोल, लायकु, विष्णुघाट, महालक्ष्मीस्थान (भाँगु), नीलबाराहीस्थान (खाँसी) हुँदै लाछिटोल गरी पुनः देवता घर पुगेर त्यस दिनको नाच सकिन्छ । दोस्रो दिन पनि नाच यसरी नै सकिन्छ । यस दिन भने नाच बिहानको ४–५ बजे निकालिन्छ । अन्तिम दिन अर्थात पञ्चमीमा नाच बिहान ६ बजे निकालिन्छ र राती अबेरसम्म चलिरहने छ । यस दिन देवताहरुले सबै मन्दिरमा तीन पटक परिक्रमा गर्छन् । नाचको बाटो भने अघिल्लो दिन सरह नै हुन्छ । बोडेको प्रत्येक घरपरिवारबाट एक दिन दक्षिणा सहित देवता पूजा गर्नुपर्छ ।
नीलबाराही नाच ९० जनाको अनुशासित प्रयासबाट सम्पन्न हुन्छ । ९० जनामा देवताहरु १९ जना, गुरुहरु ६ जना, सहयोगीहरु १९ जना, बाजा बजाउने ९ जना, प्वङ्गा (तामाबाट बनाइएको लामो फुक्ने बाजा) फुक्ने १३ जना, ताः बजाउने १ जना, भुस्याय् बजाउने ४ जना, सुकुन्डा (अगाडि र पछाडि) समाउने २ जना, संधाय् (अन्दाजी २०।२२ फुट लामो बाँस आकारको काठ जसमा झण्डा हालिएको हुन्छ) समाउने १ जना, राजदण्ड समाउने १ जना, भैरवको मूर्ति र खड्ग समाउने १ जना, चिराग समाउने २ जना, तेल ल्याउने लैजाने ४ जना, संयोजक र संयोजककी जहान गरी ६ जना र शहनाई फक्ने २ जना हुन्छन् । नाचमा विभिन्न प्रकारका वाद्य सामग्रीहरुको प्रयोग हुन्छ । बाजाहरुका मादल नै नाइके मानिन्छ । यसलाई नेवारीमा कोटा भनिन्छ । एक पटक कोटा बोके पछि भुईँमा राख्न नपाइने नियम छ किनकि यसमा दैविक शक्ति हुन्छ भन्ने मान्यता छ । यो बाहेक सहायक ४ मादल पनि हुन्छन् । अर्को महत्वपूर्ण बाजा हो ताः (पित्तलको सानो भुस्याय् जस्तो बाजा) । ताः बाजाले नृत्यको थालनी गर्छ । ताः बाजा नभईकन नाच शुरु गरिँदैन । नाचमा भुस्याय ३ जनाले बजाँउछन् । प्वङ्गा बजाउने १४ जना हुन्छन् भने ती मध्य १ जना गुरु हुन्छन् । प्वङ्गा नृत्य अवधिमा प्रमुख धूनहरुमा चाहिन्छ । देवता विदा लिने बेला, नाचको ताल फेर्ने बेला, सिंह देवता उफ्रिने बेलामा प्वङ्गा ज्यादै म महत्वपूर्ण हुन्छ ।
इतिहासमा यस नाचलाई महालक्ष्मी नाच भनेर सम्बोधन गर्ने गरेको पाइन्छ । यस नाचको लागि राजा भूपतिन्द्र मल्लले सिमाखु भन्ने ठाउँको (वसीमाः खेत) ६ रोपनी जग्गा र राजदण्ड (छाती कथि) चढाएको बारे शिलालेखमा उल्लेख गरिएको छ । जसमा श्री नीलबाराही देवता गण उल्लेख गरिएको छ । (सम्वत् ८३१ को ताम्रपत्र अनुसार) त्यस्तै भद्रकाली गुठी तहसिल अड्डा २०३३ सालको लगत ४२ नंं मा पनि बोडे नीलबाराही नाच गुठी लेखिएको पाइन्छ ।
बोडेको नेवारी समाज र संस्कृतिमा नीलबाराही नाचको महत्वपूर्ण स्थान छ । नीलबाराही नाचले बोडे नगरको छुट्टै पहिचान कायम गरेको छ । नीलबाराही नाच बोडेको सीमित नेवार समुदायको मात्र नभई नेपालकै सांस्कृतिक सम्पदा हो ।