लाय्कू भैलः

  • Thimi, Bhaktapur
लाय्कू भैलः
लाय्कू भैलः

काठमाडौं उपत्यकाका तीन ठूला शहर, काठमाडौं, ललितपुर र भक्तपुरको मध्यभागमा अवस्थित मध्यपुर थिमि पुरानो बस्ती हो । पौराणिक कालखण्डदेखि चल्दै आएको कला, संस्कृति, परम्परा तथा रीतिथितिहरु अद्यावधि यहाँ जीवन्त रहेको पाइन्छ । विशेषतः विस्केट जात्रा, जिब्रो छेड्ने जात्रा, खड्ग जात्रा, नीलबाराही गणनाच, महाँकाली नाचले यहाँको सांस्कृतिक गरिमालाई उच्च बनाएको पाइन्छ । यो सँगसँगै थिमिको सांस्कृतिक पहिचान तथा तान्त्रिक शक्तिलाई समेटिएर लाय्कूबाट सञ्चालन हुने एउटा, विशेष नाच हो, लाय्कू भैलः । लाय्कू शब्दले मल्लकालीन राज्य केन्द्र दरबार भन्ने बुझिन्छ । त्यस्तै भैलः शब्द आफैमा भैरव हो । यसरी राज्यको प्रत्यक्ष संलग्नता र सहभागितामा हुने सांस्कृतिक एवं तान्त्रिक नाचको रुपमा लाय्कू भैलः लाई लिने गरिन्छ ।

लाय्कू भैलः नाच मध्यपुर थिमिमा प्रत्येक वर्ष गाईजात्राको भोलपल्टदेखि चार रात नचाइन्छ । गुह्य तान्त्रिक पूजा विधिद्वारा गरिने यस आनुष्ठानिक नाच लाय्कू भैलःको आफ्नै ऐतिहासिक तथा सांस्कृतिक महत्व रहेको पाइन्छ । ऐतिहासिक अन्वेषणमा लाय्कू भैलःको स्पष्ट खाका नदेखिएता पनि नेपाल मण्डलका प्रचलित अन्य नाच झैं मल्लकालमा शुरु भएको मानिन्छ । नेपाल संवत् ६३३ मा भक्तपुरमा अनिकाल परेपछि राज्यमा सहकाल र शान्ति ल्याउन राजा सुवर्ण मल्लले भक्तपुरमा नवदुर्गा नाच, बोडेमा नीलबाराही गणनाच तथा थिमिमा लाय्कू भैलःको नाच प्रारम्भ गरेका हुन् ।
स्थानिय किंवदन्ती अनुसार मध्यपुर थिमिमा भूतप्रेत, दैत्य दानवहरुले बढी दुःख दिन थालेछ । त्यसबाट छुटकारा पाउन स्थानिय आराध्यदेवी श्री बालकुमारीको पूजा आराधाना गरि देवीको जात्रा बमोजिम लाय्कू भैलः को नाच सञ्चालन भएको हो । यसरी तात्कालिन शासकहरुले भूतप्रेतबाट उन्मुक्ति दिलाउन बालकुमारीको आज्ञाले तान्त्रिक शास्त्र तथा विद्धानहरुको सल्लाह बमोजिम मानव शरिरमा भैरव तथा कुमारीको प्रवेश गराई नगरभरी नाच देखाए । यसबाट देशमा शान्ति, अमनचयन कायम भएको, अतिवृष्टि, अनावृष्टि रोकिएको र सहकाल आएको विश्वास गरिन्छ । यसालाई लाय्कूको सनदमा प्रत्येक वर्ष अनिवार्य निकाल्नुपर्ने नाच भनिएको हो ।

नेपाल मण्डलका प्राःय नाचहरुमा माली तथा ज्यापु समुदायको विशेष सहभागिता रहेको पाइन्छ । तर थिमिको लाय्कू भैलः नाच स्थानिय श्रेष्ठ समुदायले सञ्चालन गर्दै आएको पाइन्छ । लाय्कू भैलःमा जम्मा पाँच जना देवगणको नाच देखाइन्छ । राज्य रक्षा गर्नको लागि स्थापना गरिएका अष्टभैरव र अष्टमातृकाको प्रतिनिधिका रुपमा २ जना भैरव र २ जना कुमारीको नाचमा संलग्नता रहन्छ ।

लाय्कू भैलः नाचमा सबैभन्दा अगाडी बेताल हुन्छ । बेताललाई स्थानिय भाषामा ज्यापुंगःचा भनि एक तान्त्रिकको रुपमा लिने गरेको पाइन्छ । ज्यापुंगःचा बन्नको लागि करिव ८ देखि १२ वर्ष उमेर समुहका बालकलाई लिइन्छ । ज्यापुंगःचाको मुकुण्डो हुँदैन । उसको शिरमा लामो कपालसहितको चाँदीको मुकुट लगाइन्छ । कालो बस्त्रमा ठाउँठाउँमा ऐना तथा पत्थर जडित लुगा तथा मुहारमा कालो जुंगा मसिले कोरिएको हुन्छ । ज्यापुंगःचाको दायाँ बायाँ हातले डमरु बजाएको ईशारा गर्दछ भने बायाँ हातमा ताय् र कपासको बिंया अर्थात ज्यापुंगः राखेर ढक्की लिएर नाच्छ । नाचका क्रममा भैरव तथा कुमारीमा द्यः खाइगु भनि काम्न थालेपछि सो ढक्कीमा रहेको ताय् र ज्यापुंगःले हिर्काएर शान्त गर्ने भएकोले उसलाई ज्यापुंगःचा भनिएको हो ।

नाचका क्रममा ज्यापुंगःचाको पछाडी २ जना भैरव हुन्छ । अगाडीकोलाई न्हापा भैलः र पछाडीको भैरवलाई लिपा भैलः भनिन्छ । हेर्दै डरलाग्दो क्रोध स्वरुपको कालो मुकुण्डो लगाएर कालै जामा र कालो वस्त्रमा भैरव सजिएको हुन्छ । भैरवको दाहिने हातमा खड्ग र देब्रे हातमा बिन्दु मुद्रामा नाचिन्छ । लाय्कू भैलःका लागि भैरव हुने व्यक्ति छनौट गर्दा प्राःय अग्लोकदको मोटोघाटो तथा खाइलाग्दो ज्यान भएको व्यक्तिलाई प्राथमिकतामा दिइन्छ ।

उन्मादको प्रतिकात्मक स्वरमा डमरु बजाएर कुमारीको नाच हुन्छ । रातो मुकुण्डो, रातै वस्त्रमा सजिएको कुमारी शान्त स्वरुपको देखिन्छ । नाचमा कुमारी छनौट गर्दा केटी जस्तै सर्लक्क परेको पाटलो जिउ भएकोलाई प्राथमिकता दिइन्छ । लाय्कू भैलःको कुमारीलाई दागिं भनिन्छ । दागिं पनि २ जना हुन्छ । अगाडीको न्हापा दागिं र पछाडीको लिपा दागिं भनिन्छ ।

गथांमुगः च¥हेको दिनमा नित्यनाथको उत्पति भएको विशेष दिनको रुपमा पूजा गरि काठमाडौं उपत्यकामा विविध नाचहरुको विविवत शुरु गरिन्छ । लाय्कू भैलः पनि यहि दिनदेखि सिकाउन शुरु गरिन्छ । लाय्कू भैलः नाच मध्यपुर थिमिको लाय्कू भित्रको चोकमा नै सिकाइन्छ । गथांमुगः च¥हे पछि शुभदिन हेरेर आइतबार या बिहिबार स्थानिय बालकुमारी मन्दिरमा अवस्थित नित्यनाथको संलग्नतामा हुने ५ जनाको कलाकार मध्ये प्रत्येकले माटोको प्यालामा चामल, सिंगो सुपारी तथा सिक्का राखेको किसली एकथान, अण्डा एक एक वटा राखी विधिवत स्थापना गर्नुपर्दछ । नित्यनाथ अर्थात नासःद्यः स्थापना गरेको चारदिनपछि प्यन्हु पूजा र आठ दिन पछि च्यान्हु पूजा हुन्छ । नाच सिकाउने दिन लाय्कूमा गुरुद्वारा च…. ह…. शब्द उच्चारण गरी द्यः ताल बजाएर विधिपूर्वक नाच प्रशिक्षण शुरु हुन्छ ।

प्रत्येक दिन नित्यनाथको साधना गरी लाय्कूमा भैलः नाचको प्रशिक्षण हुन्छ । जनैपूर्णिमाको चार दिन अघिदेखि कलाकारहरुलाई सेतो लुगा र जामा लगाएर नचाउने गरिन्छ । यी दिनमा मुकुण्डो लगाउन भने दिंदैन । जामा लगाएर नाच्ने दिनदेखि नित्यनाथ साधना गरेको कोठामा गुह्य बलि पूजा गरी सिइकाः भ्वय्, भोज खानुपर्दछ । भोज सकिएपछि गुरुद्वारा पाँचै जना कलाकारलाई तान्त्रिक शक्ति प्रदान गरिन्छ । तान्त्रिक शक्ति प्रदान गर्नेलाई खासी तकेगु सिउ तकेगु भनिन्छ । खासी तकेगु दिनदेखि नियमित रुपमा शुद्ध भइ नुहाउनु पर्नेहुन्छ । त्यस्तै नियमानुसार ब्रत बसी ब्रम्हचर्य धर्म पालना गर्नुपर्दछ । कसैको जुठो खानु हुँदैन । त्यहि भएकोले सो दिनदेखि ५ जना कलाकारहरुलाई घर नपठाइ नाचघर मै राखिन्छ ।
द्यः खाकेगु भनि तान्त्रिक शक्ति प्रदान गरिने एक दिन अगाडी गाईको दूध १ माना, अक्षतासहित नगदेशको बासुकी नागस्थानमा गई बासुकी नागराजको पूजा गरि माछा माग्ने गरिन्छ । क्रोध खात्सिल विधिद्वारा तान्त्रिक शक्ति प्रदान गर्न यहाँबाट प्राप्त हुने जिउँदो द्यःङा (हिलेमाछा), ३ पाते नारायण फूल, नौ पत्रै चमेलीको फूल, सिंगो सुपारी, चाँदीको पैसा अत्यावश्यक मानिन्छ । मुकुण्डो लगाएर नाच्ने दिनको लागि कमलको फूल पनि अनिवार्य मानिन्छ ।

गाईजात्राको भोलिपल्टदेखि चार दिन सम्म थिमिका विभिन्न स्थानहरुमा लाय्कू भैलः नाच सञ्चालन हुन्छ । लाय्कू भैलः नाच प्रदर्शन गर्ने एक दिन अगाडी गाईजात्राको दिनमा लाय्कू भैलःको पनि गाईजात्रा निकाल्नु पर्दछ । भैलः प्याखँ सांचा भनेर महाकाली नाच अष्टामातृका नाच, नागाचा प्याखँ, इन्द्रअप्सरा नाच आदिलाई सो वर्षको अन्तिम गाईजात्रा प्रदर्शनीको रुपमा लिइन्छ । सो भैलः सांचा निस्केपछि अरु गाईजात्राका प्रदर्शनहरु निकाल्न नहुने कथन छ ।

लाय्कू भैलः नाच चार रात नचाइने गरिन्छ । यसलाई दुइ खण्डमा अध्ययन गर्न सकिन्छ । पहिलो दुइ दिनको नाचलाई मूख्य नाचको रुपमा लिइन्छ । भूतप्रेतलाई थिमि नगरबाट बाहिर लखट्न या पठाउनको लागि उक्त दिन नाचलाई विभिन्न चोक, मन्दिर अगाडी नचाइन्छ । यो समयमा पूजा गरिँदैन तर पछिल्लो २ दिनको नाचलाई भूतप्रेत माथि विजय हासिक गरेको श्रद्धा तथा सम्मान स्वरुप पूजा तथा सगुन दिने गरिन्छ । सर्वप्रथम लाय्कूका नायःपःमाले लाय्कू प्रवेशद्वारमा लालटिन बाल्दै मिठाई मसलाहरु मोसिका रुपमा दिइन्छ । त्यसपछि गुरु तथा भैरव, कुमारी, ज्यापुंगःचा बन्ने कलाकारका घरपरिवार तथा इष्टमित्रले पनि यथासक्य मोसिहरु प्रदान गरिन्छ । यसरी लाय्कू भैलः को सम्मान स्वरुप पूजा गर्नेलाई वाः पूजा भनिन्छ ।

प्रत्येक दिन नाच निस्कनु पूर्व निन्यनाथ स्थापना गरेको नासः कोठामा नित्यनाथको साधना स्वरुप द्यः ताल बजाइन्छ । अनि ढोकामा रहेको शुरु जलले छर्केर चोखो भइ निस्कन्छ । त्यसपछि लाय्कू अगाडीको पिलालाखु द्यः, कुमारको अगाडी द्यः ताल बजाएर नगर परिक्रमा गरिन्छ । लाय्कू, बालकुमारी, दुथटोल, दिगुटोल, चपाचो, गुंगचिवाः लगायतका ठाउँमा नाच प्रदर्शन पश्चात पुनः लाय्कूमा नै फर्किने हुन्छ । उक्त दिनको नाच समापन भएपछि नाचको क्रममा राखिने तान्त्रिक शक्ति, क्रोध खात्सिल विधिलाई पूकारिन्छ । यो क्रोध खात्सिल विधि सिउ तकेगु प्रत्येक दिन नाचपूर्व राखिन्छ र समापन पश्चात निकालिन्छ ।

लाय्कू भैलः नाचमा ८ देखि १२ वटा दागः बाजा बजाइन्छ । दागः बाजालाई साथदिन ८ जोडी भुस्याः, ४ वटा म्वाली र चारैवटा पोङा बजाइन्छ । यी बाजाहरुको सांगीतिक माहौलमा ज्यापुंगःचा, न्हाप भैलः, लिपा भैलः, न्हापा दागिं, लिपा दागिं क्रमैसँग नाच्दै आउँछ । यिनीहरु भन्दा अगाडी एउटा चिलाख बत्ती हुन्छ भने बाजा समूह र गुरुहरु पछिपछि लाग्छन् । ठाउँ र परिस्थिति अनुसार तालहरु फरक फरक बजाइन्छ । भैलः गः, नासः गः, भुस्याः गः, पों गः, फाुकचा गः, बाराही गः, सिं गः, बेताः गः, ब्याँ गः, लगायत मूख्यतया १२ गः तथा अन्य विविध तालहरु हरेका हुन्छन् । लाय्कू भैलः नाचको मूख्य आकर्षणको रुपमा नाचका क्रममा नाच्ने कलाकारहरुमा साक्षात देवीदेवता प्रवेश भइ द्यः खाइगु भनि काम्ने हुन्छ । यस्तो काम्ने बखतमा सो कलाकारले केहि पनि चाल नपाउने हुन्छ । यस प्रकारको काम्ने कार्य द्यः खाइगु गर्दा २ मिनेट देखि ३ घण्टा सम्म पनि भएका उदारहणहरु छन् । यसो हुनुको मूल कारण नाच निकाल्नुपर्व गरिने तान्त्रिक पूजा खात्सिल विधिबाट सिउ राख्ने मात्रामा भर पर्दछ ।

यस्तो मौलिक संस्कृति, परम्परागत, ऐतिहासिक लाय्कू भैलः प्याखँ विक्रम संवत् २०२५ सालदेखि सञ्चालन अवरुद्ध भएको थियो । देशको रक्षा गर्न प्रत्येक वर्ष निकालिने भैरव नाच २०२५ साल पश्चात बल्ल २०७२ सालमा निस्किएको छ । यसमा स्थानिय जनताको अपार सहयोग, श्रद्धाभाव रहेको पाइन्छ । लाय्कूबाट निकालिने समयमा वा लाय्कूसँग सहमति लिइ स्थानिय जनताहरुले पनि भैलः प्याखँ निकालिरहेका छन् । स्थानिय श्रेष्ठ समुदाय मध्ये पनि गोजा श्रेष्ठ, साँय् श्रेष्ठ, म्हो भैलः भनि निकालेको पाइन्छ । पछिल्लो समय प्रजापति समुदायले पनि भैलः प्याखँ निकाल्दै आएको छ । जसले निकालेपनि वर्षमा एउटा मात्रै भैलः प्याखँ हुनुपर्ने तथा अनिवार्य रुपमा लाय्कूबाट स्वीकृती वा सञ्चालन हुनुपर्ने नियम पाइन्छ । तत्कालिन राज्यस्तरको प्रत्यक्ष सहभागिता रहेको यो लाय्कू भैलः लाई सदा सर्वदा संरक्षण, सम्बद्र्धन तथा प्रबद्र्धन गर्न जनस्तरदेखि राज्यस्तर सम्मको विशेष सहयोग तथा सहभागिता आवश्यक छ ।

लेखकः प्रदीप जामनः श्रेष्ठ